Trishulinews.com: News from Trishuli » नुवाकोटका सामुदायिक वनः आयश्रोत र समुदाय परिवर्तनमा अब्बल

३० कार्तिक २०७४, बिहीबार

नुवाकोट। समुदायको हितको लागि सामुदायिक लगानीमा सार्वजनिक स्थानमा स्थापना भएको स–साना वनको रुपमा रहेका सामुदायिक वनहरु नुवाकोटमा अब्बल बन्दै गएका छन् । वन विभागले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार मार्फत मुलुकभर रहेका सामुदायिक वनमा छापगैरा सामुदायिक वन ककनीलाई प्रदान गरेसगै समुदाय मार्फत सञ्चालनमा रहेका याँहाका सामुदायिक वनको व्यवस्थापन समेत उत्कृष्ट ठहरिएका छन् ।
महिला कार्यसमिति मार्फत सञ्चालन हुदै आएको छापगैरीले वन क्षेत्रको सबैभन्दा ठूलो एक लाख रुपैयाँ को पुरस्कार प्राप्तसंगै थप हौसिएका छन् । सामुदायिक वन मार्फत समुदायको आर्थिक रुपान्तरणमा परिवर्तन ल्याउन सफल पछि आगामी दिनमा प्राप्त गरेको सम्मान जोगाउन पनि लगनशिल हुन सिकाएको छापगैरी सामुदायिक वनको कोषाध्यक्ष लजिता तामाङ बताइन् । “हामीले केही गरेको जस्तो लागेको थिएन” तामाङले भनिन “देशमै राम्रो काम गरेको भन्दै सम्मान पाएपछि अब धेरै गर्ने जोश पलाएको छ, गर्नसक्ने जति अब सबै गर्ने तयारी गरेका छौ ।”
विस. २०५३ मा सामुदायिक वनको रुपमा मान्यता पाएको उक्त बनमा विस २०६६ देखि कार्यसमितिको नेतृत्व महिलाहरुले नै गर्दै आएका छन् । वन सदस्य (उपभोक्ता)को खेत र बारी अन्नबालीले भरिएको छ । सामुदायिक वनमा भने जडिबुटी र रुखले ढाकेका छन् । परम्परा देखि नै बाली लगाएर दैनिकी गुजार्दै आएका उपभोक्ताहरु आफ्नो जग्गामा भन्दा पनि सामुदायिक वनमा धेरै समय बिताउने गरेको समितिका कोषाध्यक्ष तामाङले बताइन् ।

 

“वनमा चिराईतो, टिमुर, बोझो कुरिलो, सेतोमुस्ली लगायतका जडिबुटीको नर्सरी र वृक्षारोपण गर्न भ्याइनभ्याइ छ ।” उनले भनिन “अम्रिसोबाट कुचो बनाउन र जंगलमा फलेका लप्सीबाट अचारको परिकार बनाउन नभ्याएर बिग्रन नै पुग्यो ।” छापगैरी सामुदायिक वनले आफ्नो जंगल क्षेत्रमा लगाएको जडिबुटीका विरुवा विक्री गर्ने, उत्पादन हुन थालेका फल विक्री गरी आम्दानी मनग्य निकाल्दै सदस्यहरुको जिविकोपार्जनमा सहयोग पु¥याउदै आएको छ । सामुदायिक वन भित्र फुलेका अम्रिसोको कुचो बनाउन, अलैची केलाउन सदस्यलाई रोजगार दिएको छ । सामुदायिक वनले वन सदस्यको जिविकोपार्जनमा हरियो वन कार्यक्रम मार्फत प्राप्त गरेको रु. पाँच लाख ७० हजार बिना व्याज ऋण लगानी गर्दै आएको छ । सदस्यहरुको क्षमता अभिबृद्धि, बन क्षेत्रभित्र पर्ने पासाङ ल्यामु सडकमा पहिरो रोकथाम, बालबालिकालाई विद्यालय पठाउन सचेतना जगाउदै आएकाले वनलाई एक शक्तिशाली सस्थाको रुपमा उभ्याउन सफल भएको अध्यक्ष ठूलीकान्छी तामाङले बताइन् ।
वन विभागले उत्कृष्ट बनाएको छापगैरी जस्तै सामुदायिक वन नुवाकोटमा प्रयाप्त रहेको वन कार्यालय नुवाकोटले जनाएको छ ।
सामुदायिक वन मार्फत सहुलियत पसल, कुटानी पिसानी मिल, फर्निचन मिल चलाएर समुदायका सदस्यको दैनिक जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्दै आएको माझीगाँउ सामुदायिक वन विदुर नगरपालिका–८ ले पनि महत्वपूर्ण स्थान लिएको छ । सामुदायिक वनले सञ्चालन गर्ने गतिविधि समुदायका सबैको हितमा हुने र त्यसलाई प्रतिस्पर्धा गर्ने गरी अन्यले सोही व्यवसाय नगर्ने सहमति अनुसार समुदायिक वनले चलाएका कार्यक्रम एकद्धार प्रणाली मार्फत सञ्चालित छन् ।
वन सदस्यको आम्दानकिो श्रोत जुटाउन वन समितिले भवन बनाएर भाडामा लगाएको छ भने क्याटरिङका सामाग्रि उपलब्ध गराएर सेवा र आर्थिक लाभ दुवै पु¥याएको वनका पूर्व अध्यक्ष बाबुकाजी श्रेष्ठले बताउनुभयो । “वनलाई जोगाउन वन समितिको क्रियाकलपलाई सदस्य सबैले स्वीकार गरेका छन् ।” वन समितिको सल्लाहकार समेत रहनुभएका श्रेष्ठको भन्नुभयो “वनमा हुर्किएका करोडौ रुपैयाँको काठ वन विनास नहुनेगरी प्रयोगमा ल्याएर सदस्यलाई ‘लखपती’ बनाउने योजना छौ ।”
भौगोलिक रुपमा सुगम र सेवाको रुपमा पहुँच भएका स्थानका मात्र होइन जिल्लाको दुर्गम तथा विकट मानिएको क्षेत्रका सामुदायिक वनबाट आर्थिक उपार्जन र वन संरक्षणको उदाहरण पनि उत्तिकै लोभलाग्दो छ । किस्पाङ गाँउपालिका–२ काउलेको गपगप–ओढार सामुदायिक वन क्षेत्र निजी जग्गा भन्दा आकर्षक छन् । २८ घरधुरी सदस्य रहेको सामुदायिक वनमा रुख भन्दा पनि खेती गर्ने वन क्षेत्रले परिचित छ । कबुलियति वनको जस्तै भएपनि सामुदायिक वनको रुपमा सञ्चालन भएको गपगप ओढार वन क्षेत्रमा अलैची र अम्रिसोले ढाकेको छ । सदस्यलाई रोजगार दिन र प्राप्त नाफाले समुदायको हितमा काम गर्न थालेपछि सामुदायिक वन बनाउन हुन्न भनेर बिरोध गर्नेहरु अहिले सदस्य भएर सघाउ पु¥याउदै आएको अध्यक्ष मंगलीमायाँ तामाङले बताइन् । “सुरु–सुरुमा त वन दर्ता ग¥यो भने सरकारले लिन्छ, केही पाइन्न भनेर धेरै बिरोध भयो ।” तामाङले भनिन् “अहिले सबै सदस्य भएर वनमा लगाएको अलैची टिप्न देखि बजार पु¥याउन आबद्ध भएका छन् ।” अलैची र अम्रिसोको फूलबाट बनाएको कुचो बेचेर कमाएको रकमले जंगल सहज रुपमा आवत जावत गर्न देखि घाँस दाउरा गर्न पदमार्गको निर्माण, गाँउमा सडक विस्तार, साक्षरता कक्षा सञ्चालन क्षमता अभिबृद्धि, रकम बचत तथा ऋणको कारोबार गरी नमूना काम बन्दै गएको छ । आफ्नो नाम लेख्न समेत हात कमाउने अध्यक्ष तामाङको अको योजना सबै सदस्य शिक्षित बनाउने छ । सामुदायिक वनले नयाँ भवन बनाउने योजना बनाएकाले श्रमदान गर्न सदस्यहरु उत्साहित छन् ।
सामुदायिक वनले वन संरक्षणको पहिचान, समूह गठन, कार्ययोजना, कार्यान्वयन र पुनरावलोकन गरी पाँच तहमा गर्दै आएको कामको प्रभावकारिताले सामुदायमा सामुदायिक वन ‘एक शक्ति’ र मुख्य हिस्साको रुपमा उभ्याएर अघि बढाउन सकिने उदाहरण प्रयाप्त देखिएका छन् । समुदायमा विद्यमान समस्याको आवश्यकतालाई परिपूर्ति गरि भावी पुस्ताको आवश्यकताको आधारमा जीवनपद्धतिमा सहयोग पु¥याउन भूमिका निर्वाह गर्दै आएको पाखरी सामुदायिक वन उपभोक्ता समूह दाङसिंहले बस्तीमाथिबाट बग्ने गरेको पहिरो व्यवस्थापन देखि आयआर्जन गर्न उल्लेख्य सहयोग पु¥याएको छ । गाँउको बस्ती छेउमा रहेको खुला स्थानमा पहिरो बग्ने चपेटामा परेको बस्ती जोगाउन अम्रिसो र बाँस रोप्ने अभियान पूरा गर्न सामुदायिक वनलाई माध्यम बनाएको पाखरी सामुदायिक वन समितिका सचिव सुनिता तामाङले बताइन् ।
सामुदायिक वनले समुदायलाई एकीकृत त बनाएको छ नै साथमा उनीहरुमा सामुहिक भावनाको पनि विकास गराएको छ । नुवाकोटमा अहिले तीन सय ७७ समुदायिक वनहरु दर्ता भएर सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिनुभयो । “नुवाकोटमा निजी वन १५ वटा, धार्मिक वन पाँच वटा रहेका छन् भने सामुदायिक वनको पहुँच नपुगेको कुनै वस्ती छैन् । जिल्ला वन अधिकृत नेपालका अनुसार नुवाकोटमा एक न एक घुधुरी कुनै न कुनै सामुदायिक वनको उपभोक्ता छन् । “समुदायले हुर्काएका वनहरु यसअघि संरक्षणको रुपमा मात्र केन्द्रित रहेका थिए ।” वन अधिकृत नेपालले भन्नुभयो “अब उत्पादन र लाभ दिन थालेपछि यसको आवश्यकता र महत्व पनि बढाएको छ ।”
समुदाय मार्फत सञ्चालनमा रहेका वनश्रोत (वन, वनस्पती, वन्यजन्तु, जैविक विविधता, जलाधार)को संरक्षण तथा प्रबद्धनको लागी जिल्ला वन कार्यालयले प्रत्यक्ष रुपमा नगद, उपकरण तथा प्राविधिक सहयोग पु¥याउदै आएको छ । नुवाकोटको कुल एक लाख १२ हजार ९९ हेक्टर जमिन मध्ये सामुदायिक वन क्षेत्रले त्यसको करिब २३ प्रतिशत (२५२४६ हे.) भूभाग ओगटेको छ ।
वन कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार सामुदायिक वनको हिस्सा नुवाकोटमा बढोत्तरी हुदै गएको छ भने वन दर्ताको सङ्ख्या पनि बृद्धि हुदै आएको छ । वन श्रोत मार्फत हरित रोजगारी सिर्जना गरी आयस्तरमा बृद्धि गर्न योगदान पु¥याउनुको साथै जिविकोपार्जनमा सुधार ल्याएर विकास र वातावरणबीच सन्तुलन समेत कायम राख्न उल्लेख्य योगदान पु¥याएको छ ।
समुदायको नियन्त्रण, सुरक्षा र व्यवस्थापनमा रहेका सामुदायिक वनले ल्याएको परिवर्तन र देखाएको बाटोले यसको संरक्षणमा गम्भीर बनाएको छ । वन क्षेत्रमा आगलागि, चोरी सिकासी, सडक विस्तार लगायतको अतिक्रमणले भने चिन्ता बढाउदै पनि लगेको छ । गाँउघरका नाङ्गिएका पाखामा वृक्षारोपण गर्न र त्यसबाट घाँसपात, काठदाउरा, पानीको संकलन, जडीबुटी संकलन तथा बन्यजन्तु संरक्षणमा प्रत्यक्ष लाभ पु¥याएको छ ।
सामुदायिक वनलाई जलाधार संरक्षण, वन्यजन्तु बासस्थानको व्यवस्थापन, चरनभूमि, पर्यावरणीय पर्यटन, धार्मिक र सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्न समुदायलाई राज्यको नीति तथा कार्यक्रम पनि आवश्यक बन्दै गएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद