Trishulinews.com: News from Trishuli » बुद्धका शिक्षा उपयोगी

१२ पुष २०७४, बुधबार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्व शान्ति तथा भ्रातृत्व कायम गर्नका लागि बुद्धका शिक्षाको महत्व रहेको बताउनुभएको छ ।

नागार्जुन नगरपालिका–५ स्थित जगडोलमा स्थापना भएको निङ्मापा सम्प्रदायको थांकर देछेन छोलिङ महाविहारको आज उद्घाटन गर्दै उहाँले बुद्ध तथा बोधिसत्वलाई स्मरण गर्ने परम्परालाई विभिन्न ध्यान, शिक्षा तथा उपदेशका माध्यमबाट विहारमा हुने अभ्यासले समाजलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री भीमसेनदास प्रधानले भक्ति र ज्ञानको संगमले मानिसलाई एकाग्र गरी सकारात्मक चिन्तनको विकास गर्ने बताउँदै आध्यात्मिक चिन्तनले जीवनलाई रसमय बनाउने विचार व्यक्त गर्नुभयो । उहाँले यस्ता अध्यात्म केन्द्रको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले बुद्धले विकास गरेका विभिन्न ज्ञानका आधार , त्रिरत्न, चार आर्य सत्य, पञ्चशील, आठ मार्गलगायत अधिकांश विषयका ज्ञान अहिले मानव समुदायलाई उपयोगी भएको विचार व्यक्त गर्नुभयो ।

बौद्ध विद्वान टीका शेर्पाले ध्यान भावनाबाट आउने सकारात्मक चिन्तनले आध्यात्मिक चेतना भएका मानिसलाई भक्तिमार्गमा समाहित हुन सहयोग पु¥याउने हुँदा भक्ति भावनाको अर्थ भक्तजनको हृदयमा पु¥याउन खाँचो रहेको औँल्याउनुभयो ।

महाविहारका संरक्षक नाम्गेल श्रेष्ठले बुद्ध जन्मेको भूमि नेपालमा बौद्ध दर्शन र साहित्यको विकास हुन नसकेकाले अब सबैले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो ।

त्रियानका गुरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा विभिन्न मुलुकका राजदूतको समेत सहभागिता थियो । करिब १२ रोपनीको क्षेत्रफलमा बनाइएको उक्त महाविहारमा खाङ्सार टुल्कु रिम्पोछेले नेतृत्व गर्नुहुनेछ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद