» आचारसंहिताको पूर्ण पालना गर्न आग्रह

२९ कार्तिक २०७४, बुधबार

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन आचारसंहितासम्बन्धी छलफल कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालय सप्तरीले राजविराजमा आयोजना गरेको आचारसंहिता उल्लंघन विषयको छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले निर्वाचन अवधिमा कुनै राजनीतिक दल वा कसैले आचारसंहिता विपरित कार्य नगर्न र नगराउन आग्रह गर्नुभयो ।

उहाँले सप्तरीको राजविराज नगरपालिकालगायत जिल्लाको विभिन्न ठाउँमा राजनीतिक दलबाट पोस्टर, पम्पलेट टाँसिएको छ भने अविलम्ब हटाउन सबैलाई अपिल गर्नुभयो ।

सो अवसरमा प्रजिअ भागिरथ पाण्डेले राजविराजको मुख्य चोकमा आचारसंहिता विपरित राजनीतिक दलले चुनावप्रचार प्रसारका लागि सार्वजनिक ठाउँमा टाँसिएको पोस्टर र पम्पलेट हटाउने कार्य शुरु गरिएको जानकारी दिँदै निर्वाचनमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा व्यवस्था एकदमै कडा पारिएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवार, सुरक्षा निकायका सुरक्षा प्रमुख र स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको र उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद