» निर्वाचन आचार संहिता

राजनीतिक दल र उम्मेदवारबाट पालना गर्न प्रतिबद्धता

३० कार्तिक २०७४, बिहीबार

नुवाकोटका उम्मेदवारहरुले निर्वाचन आचारसंिहताको पालना गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका छन् । जारी रहेको निर्वाचान प्रचार एंव मतदान हुने दिन मंसिर १० गते हुने चुनावलाई सहज बनाउनको लागी निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा राजनीतिक दल र उम्मेदवारसंगको छलफलमा उम्मेदवारका प्रतिनिधिहरुले आचार संहिता पालनाको लागी आफूहरु तयार रहेको बताएका छन् । राजनीतिक दल र उम्मेदवार तथा उनीहरुको प्रतिनिधिहरुले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता अनुसार नै आफूहरुले चुनावी प्रचार गर्दै आएको जिकिर गर्दै सबैले भने पालना नगरेको भन्दै आचार संहिता अनुगमन गरी उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
बैठकमा काँग्रेस उम्मेदवारका प्रतिनिधि राम्जी पौडेल र राजु थापा, एमाले र माओवादी केन्द्रको सयुक्त रुपमा रहेको बामगठबन्धनको तर्फबाट एमाले जिल्ला सचिव बुद्धि प्रधान, माओवादी केन्द्रको पोलिटब्युरो सदस्य बिमला सुवेदी, नुवाकोट इञ्चार्ज श्रीकृष्ण अधिकारी,कार्यालय सचिव नबिन पुडासनी, एकीकृत राप्रपा राष्ट्रवादीका नुवाकोट अध्यक्ष कुलबहादुर खङ्गी लगायतले आचार संहिता पालना तथा कार्यान्वयनको लागी आफूहरुले अक्षरंश तयार भएपनि आफू बाहेकका दल र उम्मेदवारबाट भने कार्यान्वयन नभएकाले अनुगमन गरी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
छलफलमा काँग्रेसको तर्फबाट प्रतनिधि रहनुभएका राम्जी पौडेलले निर्वाचन अचार संहिता पालना तथा कार्यान्वयनको लागी काँग्रेस उम्मेदवार तयार भएकाले नुवाकोटमा सरकारीस्तरबाट नै आचार संहिताको उल्लंघनका घटना बृद्धि हुदै गएको बताउनुभयो ।
काँग्रेस १ नं. क्षेत्रीय सचिव समेत रहनुभएका पौडेलले नुवाकोटमा रहेका केही सरकारी कार्यालयको गतिविधि र सरकारी कार्यालयका कर्मचारीहरु पार्टी विशेषलाई सहयोग पु¥याउदै चुनावी प्रचारमा लागेकाले आचार संहिता कार्यान्वयन एंव पालना गराउन निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराउनुभयो । नेकपा एमालेका नुवाकोटका उम्मेदवारका प्रतिनिधि तथा एमाले जिल्ला सचिव बुद्धिबहादुर प्रधानले अहिलेसम्मको चुनावी प्रचार शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा चल्दै आएपनि बजार क्षेत्रमा भने विद्युतीय पोलमा केही पार्टीले झण्डा राखेर आचार संहिताको उल्लंघन गरेको भन्दै त्यो हटाउन निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराउनुभयो । एमाले जिल्ला सचिव प्रधानले मतदान हुने दिन आवश्यक पर्ने कर्मचारी परिचालनमा सत्ता र शक्तिको दुरुपयोग हुदै आउने गरेको र अहिलेको निर्वाचनमा पनि त्यो हुनसक्ने संकेत पाएकाले निर्वाचन गराउने कर्मचारी परिचालनमा निष्पक्ष र दबाबमुक्त वातावरणमा हुनुपर्ने बताउनुभयो ।
यस्तै, छलफलमा नेकपा माओवादी केन्द्रका पार्टीको कार्यालय सचिव नबिन पुडासैनीले नुवाकोटमा चुनाव भइरहेको समयमा काठमाडौ उपत्यकामा चुनाव नहुने भएकाले नाकाको सुरक्षा व्यबस्थामा गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा अहिले देखि नै हतियारधारी व्यक्ति भित्रन थालेको र चुनावको समयमा थप स्वार्थी समूहहरु जिल्ला प्रवेश गर्न सक्ने भएकाले नाकाको सुरक्षा व्यबस्था कडाई गर्न ध्यानाकर्षण गराउनुभयो ।
उम्मेदवार तथा उनीहरुका प्रतिनिधिले आचार संहिता पालना गर्न जनाएको प्रतिबद्धता अनुसार कार्यान्वयन गरी मंसिर १० मा हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण एंव धाधलीमुक्त बनाउनको लागी सबैको सहयोगको अपेक्षा गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताउनुभयो ।
निर्वाचन अधिकृत लामिछानेले आचार संहिता कार्यान्वयनको लागी जिल्लामा उजुरीकक्ष, स्थलगत अनुगमन समूह र सञ्चारमाध्यममा आएका विषयबस्तुलाई समेत जानकारी लिएर सबै पक्षलाई जिम्मेवार बनाउन प्रयास गरिरहेको बताउनुभयो । उहाँले अहिले पनि केही स्थानमा आचार संहिता उल्लघंन भएको भनेर उजुरी आएकाले त्यसको छानबिन जारी रहेको र दुई जना सरकारी कर्मचारी नै चुनावी प्रचारमा हिडेको पाइएकाले उनीहरुलाई निर्वाचन गराउनको लागी अयोग्य रहने गरी कारबाही समेत गरेको जानकारी दिनुभयो ।
आचार संहिता कार्यान्वयन, उम्मेदवारको लागी सुरक्षाप्रबन्ध, निर्वाचनको समयमा दलीय सहयोगलाई निरन्तर छलफल र अन्तरक्रिया गरी निर्वाचन शान्तिपूर्ण बनाउन निर्वाचन अधिकृत तथा निर्वाचन गराउन परिचालन भएका निकाय जिम्मेवार हुने छलफलमा सहभागीहरुले बताएका छन् ।
मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नुवाकोटमा केही च्याखे र केही खेतला स्वतन्त्र उम्मेदवार सहित गरी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद