» निर्वाचन निकै खर्चिलो

३० कार्तिक २०७४, बिहीबार

संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा आउँदो मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव खर्चिलो हुने देखिएको छ ।
मंसिर १० र २१ गते हुने चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका पाँच हजार २ सय ९३ प्रत्यक्ष र समानुपातिकतर्फ ६ हजार ९४ उम्मेदवारले अर्बौं रुपैयाँ खर्च गर्ने देखिएको हो ।
निर्वाचन आयोगले गर्ने खर्च बाहेक उम्मेदवारहरुको खर्च साढे १० अर्ब रुपैयाँभन्दा बढी हुने देखिएको छ । यती ठूलो रकम गाउँगाउँमा पुग्ने तर त्यो उत्पादन वृद्धिका लागि नभई चुनाव प्रयोजनका लागिमात्र हुने भएकाले मुलुक आर्थिक रुपमा थप धाराशाही हुने देखिएको छ ।
प्रतिनिधि सभाको चुनावअन्तर्गत १ सय ६५ पदका लागि पहिलो हुने निवार्चित हुने प्रणालीमा पहिलो चरणमा ३८२ र दोस्रो चरणका लागि एक हजार ६ सय ६२ गरी जम्मा दुई हजार ४४ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले तोकेअनुसार एक उम्मेदवारले २५ लाख रुपैयाँ खर्च गर्न पाउनेभएकाले सरदसर सबको खर्च विवरण मिलाउदा तोके बराबरको खर्च हुने देखिएको छ । प्रत्यक्ष उम्मेदवारीमा रहेका कूल उम्मेदवारले पाँच अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएका छन । आयोगले तोकेको खर्च अधिकतम भएपनि ठूला दलका उम्मेदवारले त्यो भन्दा निकै बढी खर्च गर्ने भएकाले कम खर्च गर्ने साना दल तथा स्वतन्त्रको रुपमा च्याखे थाप्ने उम्मेदवारको खर्च कम हुदाँ यसलाई सरदरमा एक उम्मेदवारले २५ लाख रुपैयाँ खर्च गर्ने देखिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम १ सय १० सदस्य तोकिएको छ । प्रतिनिधि सभामा ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्न लागिएको छ । निर्वाचन आयोगले तोके अनुसार समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्द सूचीमा उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार दुई लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
निर्वाचित हुने पदलाई मात्र मान्ने हो भने पनि २२ करोड रुपैयाँ खर्च हुने देखिएको छ । तर सबै राजनीतिक दलले अधिकतम संख्यामा निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाएकाले यो खर्च रकम निकै बढी हुन आउने देखिएको छ ।
यसैगरी प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३० वटा पदमा तीन हजार २४९ को उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश सभाका सदस्यका पहिलो हुने निर्वा्चित हुने एकजना उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने जनाएको छ । प्रदेश सभा निर्वाचनका जम्मा उम्मेदवारले न्यूनतम चार अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च देखिएको छ । यो सबै रकम झण्डा, ब्यानर, साउन्ड सिस्टम, भोज भत्तेर, गाडी भाडा र इन्धन खर्चमा नै प्रयोग हुने देखिएको छ ।
समानुपातिकतर्फको २२० पदमा राजनीतिक दलले उम्मेदवारको सूची बुझाइसकेका छन् । यदि २ सय २० जना उम्मेदवारलाई मात्रलाई मान्ने हो भने पनि एक पदको लागी एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्थाले ३३ करोड रुपैयाँ खर्च हुने देखिएको छ ।
यसअधि निर्वाचन आयोगले ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गरेको थियो । मुलुकको ७ सय ४४ वटा पदका लागि त्यस समयमा पनि उम्मेदवारी दिएका उम्मेदवारले ठूलो रकम खर्च गरेपनि त्यही अनुसारको विवरण भने बाहिर नआउदाँ चुनावमा उम्मेदवारले गरेको खर्चको विवरण अन्योल रहेको छ । नुवाकोट लगायतका जिल्लामा अझै पनि स्थानीयतहमा उम्मेदवार भएकाहरुले खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद