» बम बिस्फोट घटनाः आरोप/प्रत्यारोप भन्दा पनि एक हुन दलहरु प्रतिबद्ध

३ मंसिर २०७४, आईतवार

प्रकाशकुमार अधिकारी

विदुर-नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का काँग्रेसका उम्मेदवार डा. रामशरण महत र प्रदेश नंं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै भएको बम विस्फोटको घटनालाई जिल्लाको सर्वदलीय एंव सर्वपक्षीय बैठकले दुःखत र निन्दनीय रहेको भन्दै भर्सना गरेको छ ।
उम्मेदवार माथीको भएको घटना मानवता विरोधीको अपराध रहेको भन्दै आसन्न निर्वाचनको उम्मेदवारका रुपमा रहेका सबैको लागी साझा चुनौतीको रुपमा लिएर सुरक्षा सतकर्ता बृद्धि गरी सुरक्षा व्यबस्थामा थप कडाई बनाउने सहमती भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा शनिबार बसेको बैठकले ककनीको बम विस्फोटको घटना निर्वाचन बहिस्कारको घोषणा गरेका पार्टीले भएको ठहर नजिक भएकाले निर्वाचनको लागी चुनावी मैदानमा रहेका उम्मेदवार, प्रचार अभियानमा रहेका कायकर्ता र आसन्न मतदानको दिन मतदाताको समेत सुरक्षा सतकर्ता उच्च बनाएर निर्वाचनलाई शान्तिपूर्ण रुपमा समन्न गर्न सहभागी सरोकारवालाहरुले निर्णय गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालको अध्यक्षतामा बसेको बैठकमा नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्रकुमार बस्यालले ककनीको बम विस्फोटको घटनाले सुरक्षा चुनौती बृद्धि भएकाले थप कडाई सहितको सुरक्षा रणनीति बनाएर अघि बढ्न सुरु गरेको बताउनुभयो ।
प्रहरी प्रमुख बस्यालले यसअघि उम्मेदवारहरुको घरदैलो प्रचार अभियानलाई सामान्य सुरक्षा व्यबस्था मात्र हुने गरेकोमा अब भने प्रहरी इन्स्पेक्टरको नेतृत्वको सुरक्षा व्यबस्था मिलाएर उच्च सतकर्ता मिलाइएकाले आत्तिनुपर्ने अबस्था नरहेको बताउनुभयो ।
बैठकमा नेकपा एमालेका जिल्ला सचिव बुद्धिबहादुर प्रधानले ककनीको बम विस्फोटको घटना लगायतका घटनाक्रमबाट निर्वाचनमा होमिएको पार्टीहरुबीच आरोप÷प्रत्यारोप गरेर भन्दा पनि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । एमाले जिल्ला सचिव प्रधानले ककनीको बम विस्फोटको घटनाको आरोप काँग्रेसले बामगठबन्धनलाई लगाउन नहुने भन्दै आगामी दिनमा चुनावी प्रतिस्पर्धामा रहेका दलहरुबीच एकता र सहकार्य गर्दै अघि बढेर शान्तिपूर्ण रुपमा निर्वाचन गराउन तर्फ केन्द्रित हुुनुपर्ने बताउनुभयो ।
सर्वदलीय एंव सर्वपक्षीय बैठकमा नेकपा माओवादी केन्द्रका नुवाकोटका कार्यालय सचिव नबिन पुडासैनीले एक पार्टीको उम्मेदवार माथी भएको आक्रमण र हमला चुनावी प्रतिस्पर्धामा रहेको पार्टीबाट नभएको र त्यस्तो बुझ्न नहुने भन्दै निर्वाचन बिरोधी गतिविधि चलाउदै आएकाले गरेको घटनालाई सबै दल मिलेर परास्त गर्दै चुनावी माहोल बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेस नुवाकोटका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले ककनीको बम विस्फोटको घटनाको सम्बन्धमा नुवाकोट प्रशासनले अनुसन्धान गरी जतिसक्दो चाडो बास्तविकता बाहिर ल्याउनुपर्ने बताउनुभयो । काँग्रेस नुवाकोट सचिव अधिकारीले उम्मेदवार सुरक्षाको लागी नुवाकोट प्रशासनले उच्च सतकर्ता अपनाउनुपर्ने र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागी हिंसात्मक घटनालाई बन्द गराउनसक्नु पर्ने बताउनुभयो ।
उहाँले निर्वाचनको समयमा समाजिक सञ्जालमा सम्पादन गरेर बिगारिएका तस्वीर राखेर काँग्रेसको उम्मेदवारको प्रचार सामाग्रि सुरक्षाकर्मीले टाँस गरिरहेको, तारुकामा काँग्रेसको समानुपातिक उम्मेदवार बहादुरसिंह लामा तामाङले पार्टीको सदस्यता वितरण गरेको तस्वीर राखेर पैसा बाढेको भनेर भएको टिप्पणी प्रति आचारसंहिता अनुगमन टोलीबाट ध्यानाकर्षण र स्पष्ट परिदिनुपर्ने माग गर्नुभयो ।
सर्वदलीय एंव सर्वपक्षीय बैठकमा नागरिक समाजका अध्यक्ष बाबुराम लामिछाने, गैह्रसरकारी सस्थाका प्रतिनिधि गोकर्ण नेपाल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितले निर्वाचनको मिति नजिकिएसगै बढेको सुरक्षा चुनौतीलाई सामना गरी प्रशासनले निर्वाचन सुरक्षा व्यवस्था भरपर्दो बनाउनुपर्ने र उम्मेदवारहरुले एक आपसमा सहकार्यदेखि आचारसंहिताको पालना गरी प्रचार अभियान र निर्वाचन गराउन तर्फ केन्द्रित हुनुपर्ने सुझाब दिएका छन् ।
निर्वाचन सुरक्षा अन्तरगत नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारी प्रयाप्त सङ्ख्यामा परिचालन भएकाले निर्वाचनको लागी उच्च सुरक्षा सतकर्ता अपनाउन थालिएको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले बताउनुभयो ।
निर्वाचन केन्द्रित सुरक्षा अन्तरगतको योजनामा ककनीको बम विस्फोटको घटनाबाट कमजोरी देखिएकाले आगामी दिनमा उम्मेदबार र मतदाताको सहयोगमा चुनावी सुरक्षा व्यबस्था मजबुद बनाउन लागिपरेको प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद