» कर्मचारी छनोटको गोला निश्पक्ष नभएको गुनासो

३ मंसिर २०७४, आईतवार

श्रीकृष्ण आचार्य ,

विदुर-नुवाकोटमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको कुन केन्द्रमा परिचालन गर्ने भन्ने छनोट गोलाबाट गरेको भनेपनि त्यस्तो नभएको भन्दै कर्मचारीहरुले असन्तुष्टी जनाएका छन् । निर्वाचन गराउनको लागी केन्द्रहरुमा परिचालन हुने मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोटमा पहुँच भएका कर्मचारीलाई उनीहरु कै माग भएर आएको स्थानमा खटाउने गरेको र त्यसमा पनि राजनीतिक पूर्वाग्रही समेत हुने गरेको गुनासो सम्बोधन गर्न गोलाप्रथा गरेको बताएपनि त्यस्तो नभएको भन्दै चुनावमा खटिने कर्मचारीहरु रुष्ट भएका छन् ।
प्रमुख जिल्ला अधिकारी जगदिशराज बराल, निर्वाचन अधिकारी जनार्दन अधिकारीको उपस्थितीमा मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जिल्लाको लागी आवश्यक पर्ने २६० जना मतदान अधिकृत र त्यत्ति नै सङ्ख्याको सहायक मतदान अधिकृतहरुको कुन केन्द्रमा परिचालन गर्ने भनेर गोला प्रथा मार्फत छनोट गरेको बताएपनि त्यसको आधिकारिकता नभएको र आफू अनुकुलको कर्मचारीलाई सहज र सुविधायुक्त स्थानमा पठाएको भन्दै कमचारीहरुको संंगठनको बैठकले आपत्ति जनाएका छन् । दुई सय ६० स्थानमा नै गोलाप्रथा गरेको भनेर सूचना बाहिर ल्याएपनि १ सय ४० स्थानमा गोलाप्रथा नभएको जानकारी पछि गराएको, सेवा प्रवेशमा जेष्ठतम कर्मचारीलाई सहायक मतदान अधिकृत बनाएर ऊ भन्दा कनिष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिएको, महिला अपाङ्गता भएका, पितृ शोकमा रहेकालाई सहज स्थानमा पठाउने व्यवस्था कर्मचारी परिचालनको निर्देशिकामा भएको उल्लेखलाई समेत उल्लघंन गरेको भन्दै ट्रेड कर्मचारीहरुको सयुक्त बैठकले कर्मचारी परिचालन प्रति असन्तुष्टि जनाएका छन् । यस्तै, निर्वाचनको लागी परिचालन गर्न निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचीमा अहिले वडासचिव भएर काम गर्दै आएकालाई त्यही स्थानमा रहेको मतादन केन्द्रको निर्वाचन गराउने जिम्मेवारी दिएको, उपसचिव तहको कर्मचारीलाई नगरपालिकामा प्रथामिकता दिने भने पनि आफू अनुकुलको नभएको भन्दै केहीलाइ गाँउपालिकामा पठाएको भन्दै बिरोधमा उत्रन बाध्य हुने विषयमा ट्रेड कर्मचारी संगठनले छलफल गरेका छन ।
मंसिर १० गते हुन लागेको निर्वाचनमा नुवाकोटमा १ सय २९ मतदानस्थलमा रहेका २ सय ६० मतदान केन्द्रको लागी मतदान अधिकृत, सहायक मतदान अधिकृत, कार्यालय सहायक र कार्यालय सहयोगी गरी दुई हजार ७८ जना कर्मचारीहरु परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू

खेलकुद