» भूकम्प पीडितको गुनासो यो महिनाभर संकलन गरिने

३ मंसिर २०७४, आईतवार

भगवती लामा,
विदुर-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित भएका ३१ जिल्लामा निजी आवास पुनःनिर्माणसँग सम्बन्धित गुनासो मंसिर मसान्तसम्म मात्र दर्ता गर्न सकिने गरी समयसीमा निर्धारण गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९१र्औं कार्यकारी समितिको बैठकले ३१ वटै भूकम्प प्रभावित जिल्लाका पीडितको लाभग्राही सूचीमा नाम छुटेको भए २०७४ मंसिर मसान्तभित्रमा स्थानीयतहमा गुनासो दर्ता गर्न सकिने गरी समयसीमा तोकेको प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
बैठकले मंसिरपछि निजी आवास पुनःनिर्माणसँग सम्बन्धित गुनासो सम्बोधन नगर्ने भएकाले आवास अनुदानको सूचीमा नपरेका तर वास्तविक पीडितले मात्र त्यस अगावै स्थानीयतहमा गुनासो दर्ता गर्न समेत आह्वान गरेको छ । प्राधिकरणले यसअघि दर्ता भएका दुई लाख पाँच हजार ६ सय ३४ गुनासो मध्ये दुई लाख पाँच हजार ५ सय ८४ गुनासो फछ्र्यौट गरेको जनाएको छ ।

वास्तविक भूकम्पपीडित लाभग्राही सूचीमा पर्नबाट बञ्चित हुन नपरोस् भनी प्राधिकरणले केन्द्रमा दर्ता भएका गुनासोको आधारमा प्रविधिज्ञ इन्जिनियरलाई पुनःजाँच र पुनःसर्वेक्षणको लागि भूकम्प प्रभावित जिल्लामा परिचालन गरी तथ्यांक संकलन कार्य समेत सम्पन्न गरिसकेको जनाएको छ । गुनासो सम्बन्धी व्यवस्थालाई अझै सरल बनाउन भन्दै प्राधिकरणले गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधिलाई नै परिमार्जन गरी स्थानीयतहलाई नै गुनासो सुन्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य अनुसार अनुदान लिने समयसीमा समेत आगामी असार मसान्तसम्मलाई निर्धारण गरेर कार्यान्वयनको पहल गर्दै आएको छ । प्राधिकरणले गुनासो सम्बन्धी विषयमा थप जानकारी चाहिएमा प्राधिकरणको पैसा नलाग्ने टेलिफोन नम्बर १६६००१७२–००० वा मोबाइल नं. ९८०१५७२१११ मा फोन गर्न पनि लाभग्राहीलाई आग्रह गरेको छ ।
यस्तै, कार्यकारी समिति बैठकले एकीकृत वस्ती विकास सम्बन्धी कार्यविधि, २०७४ समेत स्वीकृत गरेको छ । सहप्रवक्ता भुसालका अनुसार बैठकले निजी आवास पुनःनिर्माणलाई तीव्रता दिन प्राधिकरण, स्थानीयतह सहित सरोकार भएका निकायको बैठकले केही दिन अघि जारी गरेको २८ बुँदे घोषणापत्र कार्यान्वयनको मार्गचित्र समेत परिमार्जन गरी पारित गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद