» निर्वाचनको सबै तयारी पूरा

३ मंसिर २०७४, आईतवार

दिपक थापा ,
विदुर-गृह मन्त्रालयले मंसिर १० गते हुने पहिलो चरणको चुनावको लागि सुरक्षाको सबै तयारी पूरा भएकोे जनाएको छ । चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चुनाव सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुएको छ ।
चुनावअघिको खबर संकलन, कमाण्ड पोष्ट स्थापना, राजनीतिक दलसँगको समन्वय, मतदानस्थलको सुरक्षा व्यवस्था लगायतका चुनाव पूर्व तयारीका काम लगभग सकिएको प्रवक्ता दुवाडीले दाबी गर्नुभयो । पहिलो चरणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी झन्डै ६० हजार सुरक्षाकर्मी परिचालन गरिने र आवश्यक परे नेपाली सेना पनि परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
चुनावमा भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा बाहिर नेपाली सेना रहनेछ । गृह मन्त्रालयले सामान्य मतदानस्थलमा प्रहरी र म्यादी प्रहरी गरेर आठ जना, संवेदनशील मतदान केन्द्रमा ११ र अतिसंवेदनशील मतदान केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्र्मी परिचालन गर्ने जनाएको छ । चुनावमा सुरक्षा निकायलाई अत्यावश्यक ठाउँमा परिचालन गर्न मतदानको केही दिन अघिदेखि नै विभिन्न ठाउँमा सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने गृह मन्त्रालयको तयारी छ ।
खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्ने भन्दै भारत र चीनतर्फका सिमामा सुरक्षाजाँचमा कडाइ गरिएको गृह मन्त्रालयका प्रवक्ता दुवाडीले जानकारी दिनुभयो । पहिलो चरणमा १० गते ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि मतदान गर्न लागिएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद