» अबैध रुपमा भित्र्याइएको १७ किलो सुन सहित एक पक्राउ

३ मंसिर २०७४, आईतवार

राजुमित्र खनाल,
धुञ्चे-रसुवा प्रहरीले चीनको केरुङबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको १७ किलो सुन बरामद गरेको छ । रसुवाको पार्वतीकुण्ड गाँउपालिका–५ का कर्साङ दाबा तामाङले बा.११ च ७९१८ नंं. को गाडीमा लुकाएर ल्याएको अबैध सुन प्रहरी चौकी टिमुरेले शनिबार बरामद गरेको हो ।
गाडी धनी तथा चालक समेत रहेका ३१ वर्षका तामाङले बोलेरो जिपको सिटमुनी ‘फल्स बटम’ बनाएर राजश्व छली गरेर ल्याएको सुन विशेष सुराकीको आधारमा बरामद गर्न सफल भएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापाले जानकारी दिनुभयो । चार दिन अघि केरुङ प्रवेश गरेको गाडीले अबैध रुपमा सुन ल्याउन लागेको भन्ने सूचना प्राप्त भएकाले प्रहरीको लामो समयको निगरानीको आधारमा नियमिति चेकजाँचको बाहनामा अबैध रुपमा भित्र्याइएको सुन र ल्याउन संलग्न रहेका व्यक्ति र गाडीलाई नियन्त्रणमा लिन सफल भएको रसुवा प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।
चीनको केरुङबाट ट्वाइलेट पेपर र सरफ बोकेर ल्याएको गाडीमा राजश्व छली गरेर अबैध रुपमा नेपाल भित्र्याइएको सुनको बजार मूल्य अनुसार सात करोड ८४ लाख रुपैयाँ रहेको रसुवा प्रहरीले जनाएको छ ।
अबैध सुन सहित पक्राउ परेका तामाङ विरुद्ध संगठित अपराध विद्धरुको मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ । बैशाख १२ को बिनासकारी भूकम्पले क्षति पश्चात सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसंग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी भन्सार हुुदै चीनबाट नेपाल तर्फ अबैध सुन तस्करी हुने क्रमबृद्धि हुदै आएको छ ।
यसअघि रसुवागढी नाका हुदै काठमाडौ पु¥याएको ८८ किलो अबैध सुन प्रहरीले गएको भदौ १९ गते बरामद गर्न सफल भएको थियो । त्यसयता पनि रसुवा, नुवाकोट र काठमाडौमा पनि रसुवागढी नाकाहुदै भित्र्याइएको अबैध सुनलाई प्रहरीले पक्राउ गर्र्दै संलग्न भरियालाई नियन्त्रणमा लिदै आएको छ ।
रसुवामा मात्र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आठ वटा सुरक्षा जाँच स्थान भएपनि तस्करीहरुले तिनै सुरक्षाकर्मीको मिलेमतोमा अबैध सुन भित्र्याएर काठमाडौसम्म पु¥याउदै आएको समेत पाइएको छ ।

सम्बन्धित समाचार



तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट

खेलकुद